काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउन–चैत)सम्म नेपालको व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कुल १४ खर्ब ९० अर्ब रुपैयाँको आयात भएको छ भने निर्यात २ खर्ब २२ अर्ब रुपैयाँमा सीमित रहेको छ।
गत वर्षको तुलनामा आयात १३ प्रतिशतले बढेको छ भने निर्यात १८ प्रतिशतले वृद्धि भए पनि समग्र व्यापार सन्तुलनमा सुधार आउन सकेको छैन। नौ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ, जसमा आयातको हिस्सा ८७ प्रतिशत र निर्यातको हिस्सा १३ प्रतिशत मात्रै रहेको छ।
आयाततर्फ हेर्दा कृषिजन्य वस्तु र पेट्रोलियम पदार्थको प्रमुख हिस्सा रहेको छ। यस अवधिमा ३ खर्ब १७ अर्ब रुपैयाँ बराबरका कृषिजन्य वस्तु आयात भएका छन् भने २ खर्ब ५० अर्ब रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ आयात भएका छन्।
इन्धन आयातमा डिजेल अग्रस्थानमा रहेको छ, जसको आयात १ खर्ब ३ अर्ब रुपैयाँ बराबर भएको छ। त्यस्तै सोयाबिन तेल ७६ अर्ब, पेट्रोल ५० अर्ब र ग्यास ४१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ।
यसैबीच, स्मार्टफोन पनि आयात हुने शीर्ष पाँच वस्तुमा परेको छ। नौ महिनामा २५ अर्ब ६२ करोड रुपैयाँ बराबरका स्मार्टफोन नेपाल भित्रिएका छन्।