काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

अन्तरालले एकल फोटो प्रदर्शनी आयोजना गर्ने

८ बैशाख २०८३
अ+
अ-

बाँके। अन्तरालको आयोजना तथा व्यवस्थापनमा पत्रकार/फोटोग्राफर जयनारायण शाहले खिचेका फोटोहरुको ‘विटनेस अफ टाइम’ शीर्षकमा एकल फोटो प्रदर्शनी हुने भएको छ।

आगामी ११ र १२ जेठमा नेपालगन्जमा हुने प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्त्वपूर्ण क्षणलाई फोटोको माध्यमबाट प्रस्तुत गरिनेछ।

‘विटनेश अफ टाइम’ प्रदर्शनीले समयको साक्षी बनेका दृश्य,पात्र, नेपाली समाज, वेशभूषा, संस्कृति, दैनिकजीवन र प्रकृतिलाई तस्बिरमार्फत उजागर गर्ने उद्देश्य लिएको छ। प्रदर्शनीमा राखिएका तस्बिरले दर्शकलाई मानव सभ्यता र प्रकृतिका विविध आयाम अनुभव गराउने विश्वास छ।

“कहिलेकाहीँ क्षणहरू केवल स्मृति मात्र हुँदैनन्, तिनीहरू इतिहास बन्छन्‚” पत्रकार/फोटोग्राफर जयनारायण शाह भन्छन्‚ “तिनै क्षणलाई जीवन्त राख्ने प्रयास यो फोटो प्रदर्शनी हो।”

गएको डेढ दशकमा मुलुकले विभिन्न घटनाक्रम बेहोर्नुपर्यो। राजनीतिक परिदृश्य फेरिए। यस क्रममा धेरै आन्दोलन र झडपहरू भए। भूकम्प, नाकाबन्दी, कोभिड महामारी र लकडाउनले आमजनजीवन अत्यन्त कष्टप्रद रह्यो। यो सबै कालखण्डका तस्बिर शाहले खिचेका छन्।

“यात्राका दौरान जहाँ-जहाँ पुगेँ त्यो ठाउँको जनजीवन, रहनसहन, वेशभूषा, बस्ती, प्रकृति, फूल, सुन्दर दृश्य, पदयात्रामा भेटिएका मानिसका तस्बिर मैले क्यामेरामा कैद गरेँ‚” उनी भन्छन्‚ “प्रदर्शनीबाट अब यी तस्बिर साझा गर्दै छु।”

प्रदर्शनीमार्फत नयाँ पुस्तामा फोटोग्राफीप्रति रुचि अभिवृद्धि गर्नुका साथै समाजको जीवन्त तस्बिर प्रस्तुत गर्ने लक्ष्य राखिएको आयोजक अन्तरालले जनाएको छ।

समय, समाज र स्मृतिको कथा बोकेका यी तस्बिर अवलोकन गर्न कलाप्रेमी, विद्यार्थी सञ्चारकर्मी तथा आमसर्वसाधारणलाई आयोजक अन्तरालले आमन्त्रण गरेको छ।