काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। भक्तपुर जिल्ला हक्की संघको आयोजनामा ‘खुल्ला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता २०८३’ सञ्चालन हुने भएको छ।

हक्की खेलको जग बलियो बनाउने र विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले ११ र १२ वैशाखमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

जिल्ला हक्की संघ भक्तपुरका अध्यक्ष पुष्कर केसीका अनुसार प्रतियोगितामा विभिन्न प्रदेशका ६ विद्यालयका १० टोली (महिला र पुरुष) ले सहभागिता जनाउने निश्चित भएको छ।

जया बोर्डिङ स्कुल‚ ज्ञान बगैँचा बोर्डिङ स्कुल‚ राष्ट्रिय आधारभूत विद्यालय‚ कालिका मावि‚ गुन्डु सेकेन्डरी स्कुल र जनता माविले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा मधेस प्रदेशबाट दुई महिला र एक पुरुष, गण्डकीबाट दुई पुरुष र एक महिला तथा भक्तपुर जिल्लाबाट दुई पुरुष र दुई महिला टिम गरी १० टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

अध्यक्ष केसीले यस्तो प्रतियोगिताले हक्की खेलप्रति विद्यार्थीको माया र सद्भाव बढ्नुका साथै खेलको प्राविधिक विकासमा टेवा पुग्ने दाबी गरे। “हामीले पहिलोपटक विद्यालय स्तरमा यसरी ठूलो प्रतियोगिता आयोजना गर्दैछौँ। यसले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र हक्कीको भविष्य सुनिश्चित गर्न मद्दत गर्नेछ,” उनले भने।

दुई दिन चल्ने प्रतियोगिताले भक्तपुरको खेलकुद पर्यटन र हक्कीको लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार खेलको सम्पूर्ण प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ।