फोटो कथा
अस्पताल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा उपचारका लागि बनेपा पुग्नुपर्ने बाध्यता
काभ्रे। बेथानचोक गाउँपालिका ३‚ काभ्रेमा निर्माण भएको बेथानचोक आधारभूत अस्पताल अलपत्र परेको छ। निर्माण सकेर ठेकेदारले हस्तान्तरण गरेको एक वर्षभन्दा बढी भइसके पनि सञ्चालनमा आउन नसकेर अस्पताल अलपत्र परेको हो।
अस्पताल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा उपचारका लागि बनेपा पुग्नुपर्ने बाध्यता छ। स्थानीय केशवबहादुर बस्नेत भन्छन्‚ “भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको एक वर्षभन्दा बढी भइसक्यो। अहिलेसम्म सञ्चालनमा आएको छैन। सुरक्षा गार्डसम्म राखिएको छैन। सीसीटीभी जडान भएको छ तर चलाइएको छैन। झ्यालका सिसा फुटेका छन्। पालिकाले जिम्मा लिएर अलपत्र छाडेको छ। हामीले भन्दा पनि सुन्दैनन्।”
उनले अस्पताल सञ्चालनमा आए उपचारका लागि स्थानीय बासिन्दा बनेपा पुग्नु नपर्ने र सबैलाई सहज हुने बताए।
बेथानचोक गाउँपालिका २ का सूचना अधिकृत ज्ञानप्रसाद तिमल्सिनाले बजेट अभावमा अस्पताल सञ्चालनमा ल्याउन नसकिएको बताए। आवश्यक सामग्री र जनशक्ति स्वास्थ्य मन्त्रालयसँग माग गरिएको पनि उनले बताए।
उनले भने‚ “नौ करोडमा ठेक्का लगाइएको थियो। बनाउनुपर्ने बनाइएको छ, ठेकेदारलाई कुनै दोष छैन। नपुगेका संरचना बनाउने, व्यवस्थापन गर्ने काम पालिकाको हो। तर बजेट अभावमा अरु काम हुन सकेको छैन। अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र जनशक्तिको माग स्वास्थ्य मन्त्रालयमा गरेका छौं। केही व्यवस्थापन गर्न सकिन्थ्यो तर बाढीपहिरोले गर्दा बजेट पुगेन।”
सञ्चालनमा ल्याउन नसके पनि अब अस्पताललाई संरक्षण गरिने उनले बताए।

तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी