काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ बैशाख २०८३
अ+
अ-

काठमाडौं । प्रतिनिधि सभाको नयाँ नियमावली मस्यौदामा सांसदहरूको अनुशासन कायम गर्न कडा प्रावधान प्रस्ताव गरिएको छ। नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावअनुसार संसद्भित्र ध्वंसात्मक गतिविधि वा भौतिक क्षति पुर्‍याउने सांसदबाट सोही क्षतिको भरपाई असुल गरिने व्यवस्था गरिएको छ।

मस्यौदाले संसद्को मर्यादा, अनुशासन र कार्य सञ्चालनलाई व्यवस्थित बनाउन सभामुखलाई थप अधिकार प्रदान गरेको छ। प्रस्तावअनुसार बैठक कक्षमा अशान्ति सिर्जना गर्ने, तोडफोड गर्ने वा अन्य कुनै प्रकारको क्षति पुर्‍याउने सांसदलाई सभामुखले मर्यादा पालकमार्फत तत्काल बैठकबाट बाहिर निकाल्न सक्नेछन्।

यस्तै, यस्ता गतिविधिमा संलग्न सांसदलाई बढीमा १५ दिनसम्म निलम्बन गर्न सकिने र निलम्बन अवधिभर प्रतिनिधि सभा तथा संसदीय समितिका कुनै पनि बैठकमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। कारबाहीसम्बन्धी जानकारी संसद् सचिवालयमार्फत सम्बन्धित समिति र संसदीय दललाई गराइनेछ।

मस्यौदामा बैठकपछि पनि अनुशासन उल्लंघन वा ध्वंसात्मक गतिविधि प्रमाणित भएमा कारबाही गर्न सकिने प्रावधान राखिएको छ। तर त्यस्तो अवस्थामा सम्बन्धित सांसदलाई आफ्नो पक्ष राख्ने अवसर अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था समेत गरिएको छ।