काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि चार्टर्ड एकाउन्टेन्ट (सीए) सँग छलफल गरेकी छन्।
मन्त्री रावलले मन्त्रालयमा बुधबार सहकारी नियमनकारी निकायका पदाधिकारीसहित आई-क्यानका पदाधिकारीहरूसँग सहकारी संस्थाहरूमा देखिएका अनियमितता, अपारदर्शिता र वित्तीय अनुशासनको अभावलाई सुधार गर्न छलफल गरिन्।
सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले सुधारका लागि भूमिका निर्वाह गर्न मन्त्री रावलले आग्रह गरिन्। उनले सहकारी समस्या समाधानका लागि छलफल भइरहेको योजनामा सहयोग गर्न आग्रह गरिन्। साथै मन्त्रालयले निकट भविष्यमै बचतकर्ताका रकम फिर्ता सुरु गर्न लागेकाले बचत फिर्ताको मोडालिटीका विषयमा समेत उनले राय लिएकी थिइन्।
छलफलमा सहभागी चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष नीलबहादुर सारू मगरसहित सदस्यहरूले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्न आफूहरू प्रतिबद्ध भएको उल्लेख गर्दै मन्त्रालयलाई आवश्यक सहयोग गर्न तयार भएको बताएका थिए।
मन्त्री रावलसँग छलफलमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्मा, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्ष डिल्लीराज आचार्यलगायत पदाधिकारी सहभागी थिए।
यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट अध्यक्ष सारू मगरसहित सदस्यहरू आनन्दराज शर्मा वाग्ले, उमेशराज पाण्डे, अमन उप्रेती, हेमकुमार काफ्ले, हरिकुमार सिलवाल, सुनील देवकोटा, पीयूष आनन्द, भरतकुमार श्रेष्ठ, कमलमणि लम्साल, प्रदीपकुमार यादव, कार्यकारी निर्देशक विमल डंगोल, निर्देशक किरणकुमार खत्री, सहनिर्देशक अस्मिता ढकाल सहभागी थिए।
सरकारले पछिल्लो समय सहकारी क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न सरोकारवालासँग छलफललाई तीव्रता दिएको छ।