काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

‘नैतिकताका आधारमा पद त्याग गरेँ’

९ बैशाख २०८३
सुधन गुरुङ।
अ+
अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार एक वक्तव्य जारी गर्दै आफ्नो सेयरसम्बन्धी विषयमा उठेका जनचासो र प्रश्नलाई गम्भीरतापूर्वक लिँदै नैतिक जिम्मेवारीका आधारमा पद त्यागेको घोषणा गरे।

गुरुङले १३ चैत २०८२ देखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए। पछिल्ला दिनमा नागरिकस्तरबाट उठेका टिप्पणी र आलोचनाले आफूलाई गम्भीर बनाएको उनले सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा उल्लेख गरेका छन्। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले वक्तव्यमा भनेका छन्।

उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढ्दै गएको सन्दर्भमा पछिल्लो समय सक्रिय युवापुस्ताको आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको पनि उल्लेख गरेका छन्। साथै, सरकार निर्माणमा भएको बलिदानको सम्मान गर्दै उठेका प्रश्नको जवाफ नैतिक आचरणमार्फत दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

गुरुङले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् भन्ने चाहनासहित पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् भन्ने उद्देश्यले तत्काल प्रभावबाट राजीनामा दिएको स्पष्ट पारेका छन्।

राजीनामासँगै उनले सञ्चारकर्मी, सर्वसाधारण तथा युवाहरूलाई सम्बोधन गर्दै यदि वास्तविक परिवर्तन चाहने हो भने सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा सबैले उभिनुपर्ने बताएका छन्। उनले केही सञ्चारकर्मीहरूसमेत विभिन्न आर्थिक स्वार्थमा जोडिन सक्ने संकेत गर्दै यस विषयमा पनि क्रमशः खुलासा हुँदै जाने दाबी गरेका छन्। उनको राजीनामापछि अब सरकारभित्र नयाँ गृहमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।