खेलाडी सम्मान
क्योकुसिन तेजुका वर्ल्ड कप र आईबीए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपका विजेता सम्मानित
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता दुई खेलाडीलाई नगदसहित सम्मान गरेको छ।
काठमाडौँ प्लाजामा बुधबार आयोजना गरिएको कार्यक्रममा कार्यवाहक प्रमुख सुनीता डंगोल, प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले खेलाडीहरूलाई सम्मान गरे। खेलकुदमार्फत राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पुर्याएबापत उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेमा क्योकुसिन तेजुका वर्ल्डकप रजत पदक विजेता दावा शेर्पा छन्। जापानको सेन्दाई तथा फुकुओकामा २१ देखि २५ फेब्रुअरी २०२५ सम्म आयोजना भएको चौथो क्योकुसिन तेजुका वर्ल्ड कपमा शेर्पाले नेपाल क्योकुसिन कराते (इको) संघका तर्फबाट सहभागिता जनाएका थिए। उनलाई एक लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।
यस्तै ३० नोभेम्बरदेखि १४ डिसेम्बर २०२५ सम्म दुबईमा आयोजना भएको मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपका कास्य पदक विजेता चन्द्रबहादुर थापालाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरियो। ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थापाले इन्डोनेसियाको अरमानिया र क्वाटरफाइनलमा इरानलाई पराजित गरेर कास्य पदक प्राप्त गरेका थिए।
त्यस अवसरमा खेलका प्रशिक्षकहरूलाई समेत सम्मान गरिएको थियो।
सम्मानपछि सामाजिक समिति संयोजक केसीले खेलाडीहरूको मनोबल उच्च बनाउने महानगरपालिकाले लगानी बढाउँदै लैजाने बताए। “खेलाडीहरूले देशकै नाम राख्नुभएको छ। उहाँहरूलाई लक्ष्यमा पुग्न हामी सहयोग गर्छौं‚” केसीको भनाइ थियो।
त्यस अवसरमा प्रशिक्षक र खेलाडीहरूले महानगरपालिकाले खेल क्षेत्रबाट गरेको अपेक्षा पूरा गराउन आफूहरू मिहिनेत गर्न प्रोत्साहित भएको बताएका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं, कार्यपालिका सदस्यहरू महेश नेपाली र ललिता खड्गीसहित अधिकारीहरू सहभागी थिए।