भद्रपुर। नेपाल पुलिस फुटबल क्लब चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिस खेलको सुरुआती १४औँ मिनेटमै १० खेलाडीमा सीमित भएको थियो।
पुलिसले भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। सेमिफाइनलमा पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ।
खेलको १४औँ मिनेटमा लक्ष्मीबाईले अग्रता लियो। पुलिसकी गोलकिपर उषा नाथले डी-बक्सबाहिर आएर गोल समातेपछि उनी रातो कार्ड खाँदै मैदानबाहिर निस्किन्। उनको स्थानमा वैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गरिन्।
नाथको स्थानमा सहारा लिम्बूले मैदान छोडेपछि पुलिस १० खेलाडीमा सीमित भयो। लक्ष्मीबाईले डी-बक्सनजिकै पाएको त्यो फ्रिकिकलाई बिनी कुमारीले प्रहार गरिन्। पुलिसकी गोलकिपरबाट रिबाउन्स भएको बललाई हेमन्ती कुमारीले गोल गरिन्।
१-० गोलले पछि परेको पुलिसले त्यसको केही समय लय गुमाएको थियो। पुलिसले ३८औँ मिनेटमा खेल बराबरी गर्यो। मीना देउवाको क्रसपासमा रेखा पौडेलले हेडमार्फत गोल गर्दै पुलिसलाई खेलमा फर्काइन्।
खेलको ४६औँ मिनेटमा पुलिसले अर्को गोल थप्यो। पूजा रानाले गरेको कर्नर प्रहार लक्ष्मीबाईकी गोलकिपर रुपाली कुमारीको हातबाट रिबाउन्स भएको मौकामा कप्तान अमृता जैसीले वान टच गोल गरिन्।
५३औँ मिनेटमा पुलिसले तेस्रो गोल थप्यो। पूजा रानाको क्रस पासमा सम्झना लावतीले गोल गर्दै पुलिसको जित निश्चित गरिन्। खेलको ६७औँ मिनेटमा पुलिसका नियमित स्ट्राइकर मीना देउवाले गोल गरिन्। पूजा रानाको फ्रिकिकमा रेखा पौडेलले डी-बक्समा मिलाइदिएको बललाई देउवाले गोल गरिन्।
खेलको इन्ज्युरी समयमा पूजा रानाले गोल गर्दै गोल अन्तर ५-१ मा पुर्याइन्। मैदानको मध्यभागबाट प्रहार गरेको लङ रेन्जर सटले लक्ष्मीबाईका गोलकिपरको हातमा लाग्दै जाली चुमेको थियो। खेलको प्लेयर अफ दी म्याच विजेता टिम नेपाल पुलिसकी पूजा राना भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन्।
भोलि (बिहीबार) अन्तिम क्वार्टरफाइनल खेल सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच हुनेछ।