काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा कुनै पनि कमी-कमजोरी नहुने गरी काम गर्नुपर्ने बताएका छन्।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीसँगको बैठकमा उनले सरकारद्वारा लागू गरिएका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटना हुन नदिन लाग्नुपर्ने बताए। उनले सूचना सङ्कलन तथा विश्लेषणलाई प्राथमिकतामा राखी सोहीअनुरूप आवश्यक सुरक्षा रणनीति अपनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गरे।

लागुऔषध उत्पादन, ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्तालाई लक्षित गरी सुधारात्मक कार्यक्रम गर्न प्रहरी थप क्रियाशील हुनुपर्ने प्रहरी महानिरीक्षक कार्कीको भनाइ थियो। उनले सीमानाकामा हुनसक्ने आपराधिक गतिविधि एवं तस्करी नियन्त्रणमा शून्यसहनशीलताको नीति अवलम्बन गरी कार्य गर्नुपर्ने बताए। गुन्डागर्दीविरुद्ध थप निर्मम रूपमा प्रस्तुत हुन उनले निर्देशन दिए।

कार्कीले परिवर्तनलाई आत्मसात् गरी सोहीअनुरूप समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता तथा प्रभावकारिता अझ वृद्धि गर्न जरुरी रहेको उल्लेख गरे। समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखी नागरिक सुनुवाइ कार्यक्रममार्फत उचित सूचनाहरू प्रवाह गरी नागरिकले महसुस गर्नसक्ने गरी प्रहरीले सेवा दिनुपर्ने उनले बताए।

प्रधान कार्यालय कार्यविभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले समसामयिक विषयमा निर्देशन दिए। कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले, प्रहरी वरिष्ठ उपरीक्षकलगायत प्रदेश कार्यालय र जिल्ला कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति थियो।