झापा। एक दशकअघि जङ्गली हात्तीको प्रवेश रोक्न मेचीनगर नगरपालिकाको पूर्वोत्तर सीमा क्षेत्र बाहुनडाँगीमा लगाइएको सौर्य विद्युतीय घेराबेरा मर्मत अभावमा निष्प्रभावी बनेका छन्।
घेराबेरामा प्रयोग भएका ब्याट्रीसहित उपकरण र तार जीर्ण बनेपछि जङ्गली हात्तीले दुःख दिन थालेको स्थानीयवासीको गुनासो छ। जीर्ण घेराबेरा मर्मत गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत तीन निकायले चालु आर्थिक वर्षमा कार्य सम्पन्न गर्नेगरी ३० लाख रुपैयाँ बजेट दिएका छन्।
मेचीनगरको नकलबन्दादेखि बाहुनडाँगीसम्म भारतसँग सीमा जोडिएको १८ किलोमिटर क्षेत्रमा विसं २०७२ मा विश्व बैंकको एक करोड २० लाख रुपैयाँ लगानी र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा अफसेट प्रविधियुक्त सौर्य विद्युतीय घेराबेरा जडान गरिएको थियो।
सौर्य घेराबेरा प्रभावकारी भएकाले सुरुका वर्षहरूमा भारतबाट बथानमा नेपाल आउन खोज्ने जङ्गली हात्ती सीमामै रोकिएका थिए। तर घेराबेराको नियमित मर्मतसम्भार हुन नसक्दा पछिल्ला पाँच वर्षयता बाहुनडाँगीबाट निर्बाध प्रवेश गर्ने हात्तीले जनधनको क्षति पुर्याउँदै आएका छन्।
मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले सौर्य विद्युतीय घेराबाराको उपकरण मर्मतका लागि बजेट आएपछि स्थानीयवासी खुसी भएको बताए।
उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मर्मतसम्भारका लागि वन मन्त्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र मेचीनगर नगरपालिकाबाट समान १०/१० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
“१८ किलोमिटर दूरीमा रहेको विद्युतीय घेराबारामा १८ स्थानमा ब्याट्रीसहितको उपकरण जडान गरिएको थियो,” उनले भने, “ती सबै ब्याट्री फेर्नुपर्ने अवस्था छ। गौडाहरूमा विद्युत् प्रवाह हुने तार र खम्बाहरू समेत ढलेका छन्, तिनको पनि मर्मत गर्नुपर्ने हुन्छ।”
मञ्चमार्फत नै घेराबेरा मर्मत हुने र भारतबाट ब्याट्रीलगायत उपकरण आयातको प्रक्रिया सुरु भइसकेको जानकारी दिइएको छ।
भारतको आसाम र पश्चिम बङ्गालका विभिन्न वन्यजन्तु आरक्षण क्षेत्रबाट जङ्गली हात्ती नेपाल प्रवेश गर्ने मुख्य स्थान मेचीनगरको बाहुनडाँगी हो। जहाँ दिनहुँ ठूलो बथानमा हात्ती नेपाल प्रवेश गर्दै आएका छन्। आहार खोज्दै भित्रिने ती हात्तीले झापाको उत्तरी क्षेत्रमा जनधन र बालीमा व्यापक क्षति गर्दै आएका छन्।
विद्युतीय घेराबाराको नियमित मर्मतसम्भारका लागि स्थायी बजेट अभाव हुँदा समस्या बढेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए।
“मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न र सहअस्तित्वको अवधारणाबाट अघि बढ्न बाहुनडाँगीमा विभिन्न अभ्यास भइरहेको छ,” उनले भने, “जनधन र बालीको सुरक्षाका लागि युवाको द्रुत परिचालन टोली गठनदेखि बाली बीमाको व्यवस्थासम्म ध्यान दिइएको छ। विद्युतीय घेराबारा मर्मत भएपछि हात्ती मेची नदीपारि नै रोकिने अपेक्षा छ, जसले ठूलो राहत दिनेछ।”