काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० बैशाख २०८३
प्रहरी महानिरीक्षक दानबहादुर कार्की। तस्बिरः रासस
अ+
अ-

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु प्रहरीको मूल दायित्व भएको स्पष्ट पारेका छन्।

उनले प्रहरी सङ्गठन नागरिककै सेवामा समर्पित रहेको उल्लेख गर्दै जुनसुकै परिस्थितिमा पनि नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइने बताए। काठमाडौँको नयाँ बसपार्कस्थित ट्राफिक प्रहरी वृत्तको पुनःनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा बिहीबार उनले यस्तो बताएका हुन्। गत २३ र २४ भदौको आन्दोलनका क्रममा आगजनी भई क्षति पुगेको उक्त भवन नागरिककै सहयोगमा पुनर्निर्माण गरिएको हो।

कार्कीले घरबाट सुरक्षित रूपमा बाहिरिएको व्यक्ति साँझ पुनः सुरक्षित घर फर्किन सकोस् भन्ने सुनिश्चित गर्न प्रहरी निरन्तर खटिएको बताए। “हामी नागरिकका सेवक हौँ, नागरिकलाई जुनसुकै बेला आवश्यक पर्ने सहयोग तथा सेवा प्रदान गर्नु हाम्रो दायित्व हो,” उनले भने, “सोहीअनुरूप हामी अहोरात्र खटिरहेका छौँ।”

उनले आन्दोलनका क्रममा प्रहरीकै बसोबास गर्ने संरचना जलाइएको स्मरण गर्दै त्यसको पुनर्निर्माणमा नागरिकस्तरबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे। “नागरिकको सेवामा खटिँदा प्रहरीको बस्ने ठाउँ नै जल्यो, तर पुनः नागरिककै साथले हामीले घर पायौँ,” उनले भने, “नागरिकले हामीलाई घरदेखि दरबारसम्मको साथ दिएका छन्, योभन्दा ठूलो खुसी अरू केही हुन सक्दैन।”

कार्यक्रममा प्रहरीका उच्च पदस्थ अधिकारी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय समाजसेवीको उपस्थिति थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न महानुभावलाई कदरपत्र एवं प्रशंसापत्र प्रदान गरेका थिए।