काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

दलित युवाको रहस्यमय मृत्यु

सांसदहरूसँगै अधिकारकर्मीहरू रातभर धर्नामा बसे पनि सरकारले गरेन सुनुवाइ

११ बैशाख २०८३
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा बसेका सांसद तथा अधिकारकर्मीहरू। तस्बिर : खगेन्द्र सुनारको फेसबुक
अ+
अ-

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा ६ सांसदसहित धर्नामा बसेका अधिकारकर्मीको मागलाई सरकारले बेवास्ता गरेको छ।

प्रहरीको हिरासतमै सिन्धुलीको सुनकोसी गाउँपालिका ३‚ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको ७ वैशाखमा मृत्यु भएपछि न्यायिक छानबिनको माग गर्दै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६ सांसद धर्नामा बसेका हुन्। सांसदहरूसँगै अधिकारकर्मीहरू रातभर धर्नामा बसे पनि सरकारले यसमा कुनै सुनुवाइ गरेको छैन।

धर्नामा बसेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्रीको सचिवालयमा खबर गरे पनि अहिलेसम्म कुनै रेस्पोन्स नआएको बताए। उनले नेपालन्युजसँग भने‚ “सरकारले तत्काल रेस्पोन्स गर्न जरुरी छ। हामीले प्रधानमन्त्रीज्यूको सचिवालयमा समेत खबर गरेका थियौँ। रातभर सडकमै धर्नामा बस्यौँ कतैबाट रेस्पोन्स आएन । बरु प्रमुख जिल्ला अधिकारी रातभर कुनै पार्टी सेलिब्रेसन गरेर बस्नुभयो।”

उनले श्रीकृष्णको न्यायका लागि सबैलाई जिल्ला प्रशासन कार्यालयको गेटमा आउनका लागि सार्वजनिक अपिलसमेत गरेका छन्। “१२ घण्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा छौँ। प्रहरीले हत्या गरेको श्रीकृष्ण विकको न्यायको लागि अहिले १० बजे सबैलाई सीडीओ गेटमा उपस्थितिको लागि अपिल छ‚” उनले भनेका छन्।

धर्नामा बसेका सांसदहरूले जातीय हिंसाका कारण २२ वर्षीय युवाले ज्यान गुमाउनुपरेको भन्दै दोषीलाई कारबाहीको माग राखेर बिहीबार रातिदेखि जिल्ला प्रशासन कार्यालयको मुख्य गेटअगाडि निरन्तर धर्नामा बसेका छन्।

उसो त श्रीकृष्णको मृत्यु भएपछि उनका आफन्तहरू आन्दोलित भइरहँदा प्रहरी र प्रशासनले न्याय नदिएको भन्दै आक्रोशित थिए। श्रीकृष्णका आफन्तको पक्षमा सांसदहरूसहित दलित अधिकारकर्मीहरूले पनि दोषीलाई कारबाही गर्न माग गरेका छन्।

धर्नामा रहेका सांसद सुनारले श्रीकृष्णको शव परीक्षण काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा गर्नुपर्ने‚ काल्पनिक जाहेरी दिनेलाई कारबाही नगरेसम्म धर्नामै रहने बताए।

यो पनि…

जिल्ला प्रशासनको गेटमा रास्वपाका ६ सांसदको धर्ना

घटनामा प्रत्यक्ष जोडिएका सिन्धुली प्रमुख जिल्ला अधिधारी (प्रजिअ), एसएसपी र ड्युटी अफिसरलाई निलम्बन गरी तत्काल कारबाही गरिनुपर्ने माग रहेको धर्नामा रहेकी सांसद रिमा विश्वकर्मा बताउँछिन्। सिन्धुलीकै सांसद आशिष गजुरेल पनि धर्नामा छन्। उनले यस्तो गम्भीर विषयमा हेलचेक्रयाइँ गर्न नहुने प्रतिक्रिया दिएका छन्। उनले भने‚ “दोषीलाई छाड्नु हुँदैन‚ जसरी भए पनि कानुनको दायरामा ल्याउनुपर्छ।”

यस्तै अर्का सांसद गणेश विकले पनि घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने र जाहेरी दिनेलाई जातीय हिंसा र हत्यामा अनुसन्धान गरेर कारबाही गर्नुपर्ने बताए।

जिल्ला प्रशासन कार्यालयअघिको धर्नामा सत्तारुढ दलका सांसद् खगेन्द्र सुनार‚ रिमा विश्वकर्मा‚ सुष्मा स्वर्णकार‚ गणेश विक‚
खिमा विश्वकर्मा र आशिस गजुरेल छन्। धर्नामा रहेका सांसदहरूलाई अधिकारकर्मीहरूले पनि साथ दिइरहेका छन्।