सेयरबजार
१.५४ अंकले बढेको सेयरबजार २७८८.७० विन्दुमा अडियो
काठमाडौँ। साताको पाँचौँ कारोबार दिन आज (शुक्रबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेर बिदा भएको छ। यो साता लगातार चार दिन घटेको नेप्से अन्तिम कारोबार दिनमा भने १.५४ अंकले बढेर बिदा भएको छ।
अघिल्लो कारोबार दिनको तुलनामा ०.०५ प्रतिशतले बढेको नेप्से २७८८.७० विन्दुमा अडिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स भने ०.२० अंकले घटेर ४६८.०७ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.०४ प्रतिशतले कम हो। फ्लोट इन्डेक्स भने ०.०३ प्रतिशतले बढेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स भने ०.०२ प्रतिशतले घटेको छ।
सेयरबजारमा शुक्रबार ३५१ कम्पनीको ७५ हजार २२९ पटकको कारोबारमा एक करोड १२ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच भए। जसअनुसार शुक्रबार पाँच अर्ब २७ करोड तीन लाख ९९ हजार ७२७ रुपैयाँको कारोबार भयो। सोमबार पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँको कारोबार भएको थियो भने मंगलबार पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँको कारोबार भएको थियो। यसैगरी बुधबार सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँको कारोबार भएको थियो। बिहीबार भने पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ९०५ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज ८७ कम्पनीका मात्र सेयरमूल्य बढ्यो। १६८ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १४ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा ६ समूहको उपसूचक बढे भने बाँकी सात समूहका सूचक ओरालो लागे।

जसअनुसार शुक्रबार वाणिज्य बैंक समूहको सूचक ०.२२‚ विकास बैंक ०.२२ प्रतिशतले बढेको छ। फाइनान्स समूहको सूचक ०.६२ प्रतिशतले घटेको छश्र यस्तै होटेल तथा पर्यटन ०.३२ र जलविद्युत् समूहको सूचक ०.२५ प्रतिशतले बढेको छ। लगानी समूहको सूचक ०.०२ र जीवन बिमा समूहको सूचक ०.२६ प्रतिशतले घट्यो।
यसैगरी उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशतले बढ्दा लघुवित्त ०.३५‚ म्युचुअल फन्ड समूह ०.०१‚ निर्जीवन बिमा ०.०६ र अन्य समूहको सूचक १.०२ प्रतिशतले घट्यो। व्यापार समूहको उपसूचक भने ०.५८ प्रतिशतले बढेको छ।
नेप्सेमा शुक्रबार तीन कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड‚ शिखर पावर डेभलपमेन्ट लिमिटेड र माईखोला हाइड्रोपावर लिमिटेड छन्। अर्थात पाल्पा‚ शिखर र माईखोलाका लगानीकर्ताले सेयरमूल्यमा १५ प्रतिशतले आम्दाी गरे। यस्तै प्राइम डिबेन्चर-२०८८ का लगानीकर्ताले भने ४.५९ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। आज रिडीको २७ करोड ३८ लाख ४७ हजार ८९६ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो। नेसनलको सेयर शुक्रबार सात लाख ९० हजार ४९ कित्ता किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३१२ रुपैयाँ कायम रह्यो।