दलित युवाको रहस्यमय मृत्यु
प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यको संयोजकत्वमा गठित छानबिन समितिलाई सात दिनको कार्यादेश
काठमाडौँ। इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासतमा थुनुवाको शंकास्पद मृत्यु घटनाको छानबिन गर्न नेपाल प्रहरीले पाँच सदस्यीय छानबिन समिति बनाएको छ।
प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका ३ का २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतभित्रै मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यको संयोजकत्वमा छानबिन समिति बनाइएको हो।
जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थप भई विक इलाका प्रहरी कार्यालय खुर्कोटको न्यायिक हिरासतमा थिए।
प्रहरीका अनुसार, गएको ७ माघको साँझ ७:४५ बजे उनले हिरासत कक्षको शौचालयमा आफ्नै कालो रङको सर्टको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको दाबी छ।
आचार्यको संयोजकत्वमा गठित छानबिन समितिमा प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेल‚ प्रहरी निरीक्षक इन्द्रजित सुनार ‚ प्रहरी निरीक्षक प्रेम रेग्मी र प्रहरी नायब निरीक्षक राजेश्वर सापकोटा छन्।
यो पनि…
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा हस्ताक्षरित पत्रअनुसार पाँच सदस्यीय समितिलाई घटनाको तथ्यगत एवं वस्तुनिष्ठ छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
हिरासतजस्तो सुरक्षित मानिने स्थानमा थुनुवाको मृत्यु हुनुलाई गम्भीरतापूर्वक लिँदै प्रहरीले आन्तरिक छानबिन सुरु गरेको हो। यस समितिको प्रतिवेदनका आधारमा घटनामा प्रहरीको लापरबाही थियो वा थिएन भन्ने कुरा स्पष्ट हुने देखिन्छ।
घटनाबारे सत्यत्य जानकारी हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६ सांसद धर्नामा बसेका छन्।
