फोटो कथा
काठमाडौँ। सरकारले थापाथली सुकुम्बासी बस्ती खाली गर्ने निर्णय गरेसँगै यहाँका बासिन्दाहरूले आफ्नो सामान सार्न थालेका छन्।
बिहीबारदेखि सरकारले बस्ती खाली गर्न माइकिङ गर्न थालेपछि बस्तीका बासिन्दाले आफ्नो सामान सुरक्षित गर्न सामान सारेका हुन्।
“हामीलाई कहाँ राख्ने भन्ने कोही आएर भनेको छैन। हिजो माइकमै ‘सामान सुरक्षित राख्नु’ भनेर मात्रै भने। त्यसैले हामी सामान जोगाइरहेका छौं, तर बस्ने ठाउँ त कतै छैन।” एक महिलाले भनिन्।
बस्तीका केही भागमा भने विरोध प्रदर्शन जारी छ। प्लेकार्ड बोकेका सुकुम्बासीहरूले सत्तारूढ दलको वाचा सम्झाउँदै व्यवस्थापनको माग गरिरहेका छन्।
“हामी काम गरेर पेट पाल्ने मान्छे हौं,” अर्का एक बासिन्दा भन्छन्, “जहाँ राखे पनि काम गर्न सजिलो हुने ठाउँ हुनुपर्छ। बालबच्चा पढाउनुपर्छ, गाडी चढ्न मिल्ने ठाउँ चाहिन्छ।”
केही दिनअघि प्रहरी टोली आएर निरीक्षण गरेर गएको बाहेक नगरपालिकाबाट कुनै प्रत्यक्ष समन्वय नभएको उनीहरूको भनाइ छ।
“हामी रहरले यहाँ बसेका होइनौं, बाध्यताले बसेका हौं,” एक वृद्धले भने, “अब सरकारले व्यवस्थापन गर्छु भनेको छ, तर कहिले र कसरी त्यो थाहा छैन।” अहिलेका लागि धेरैजसो परिवारले राति पनि यहीँ बस्ने निर्णय गरेका छन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
