झापा। मेची रंगशालामा जारी प्रथम ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।
एपीएफले चर्च ब्वाइज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो। आगामी सोमबार हुने फाइनल खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेलको ३४औँ मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। कुसुम खतिवडाको क्रस पास अनिता बस्नेत हुँदै आएको बललाई घिसिङले जाली चुमाएकी थिइन्।
पहिलो हाफमा १-० ले अगाडि रहेको एपीएफले दोस्रो हाफमा थप दुई गोल गर्यो। ४९औँ मिनेटमा कप्तान अनिता बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारिन्। रश्मीकुमारी घिसिङको पासमा बस्नेतले गोल गरेकी थिइन्।
६२औँ मिनेटमा रश्मीकुमारीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफको जित सुनिश्चित गरिन्। खेलभरि एपीएफले आक्रामक खेल प्रस्तुत गर्दा चर्च ब्वाइजले रक्षात्मक रणनीति अपनाएको थियो। खेलको ‘प्लेयर अफ द म्याच’ एपीएफकी रेनुका नगरकोटी घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
प्रतियोगिताको विजेताले ११ लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिनेछ।