दाङ। ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता-२०८३’ मा पुरुषतर्फ सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजयी बनेका छन्।
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा आज (शनिबार) घोराहीमा भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपाली सेनाका खेलाडी पहिलो बन्न सफल भए।
प्रतियोगितामा पुरुषतर्फ खड्काले निर्धारित १० किलोमिटर दूरी ३० मिनेट ३३ सेकेन्डमा र महिलातर्फ सेनाकै न्यौपानेले ३६ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्न सफल भइन्। पहिलो बनेका खड्का र न्यौपानेले समान ८० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
त्यसैगरी प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीका रूपेश कार्की ३१ मिनेट १३ सेकेन्डका साथ दोस्रो हुँदा सेनाकै उमेश थापा ३१ मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा हुन सफल भए।
महिलातर्फ सेनाकै निर्मला केसीले ३७ मिनेट ४५ सेकेन्डका साथ दोस्रो हुँदा सम्झना गुरुङ ३९ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान लिन सफल भइन् छ। प्रतियोगितामा द्वितीय र तृतीय स्थान लिने पुरुष तथा महिला खेलाडीलाई जनही ४५ हजार र २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा पुरुषतर्फ सेनाका अक्कल पालले ३२ मिनेट दुई सेकेन्डमा दूरी पार गर्दै चौथो हुँदा महिलातर्फ एपीएफकी फूलमाया रानाले ३९ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै चौथो भइन्। चौथो स्थान प्राप्त गरेका पाल र रानाले नगद १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य-सचिव तिरणदाज गौतमले खेलकुदको विकास, विस्तार तथा नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।