हेटौँडा। सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया अन्योल बनेको छ। रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले दाबी नछाडेपछि सहमति कायम हुन सकेको छैन।
बागमती प्रदेश सभा सभामुख भुवनकुमार पाठकले जेन-जी आन्दोलनलगत्तै गत १ असोजमा पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको थियो। प्रदेश सभाको बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
यही ८ वैशाखमा सभामुख चयनका लागि प्रक्रिया अघि बढाउने तयारी भए पनि दलहरूबीच सहमति नभएकाले ढिला भएको कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका सचेतक पुकार महर्जनले बताए। रिक्त सभामुख पदका लागि सत्तारुढ र प्रतिपक्ष दलहरूले दाबी गर्दै आएका छन्।
प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो पार्टीले सभामुख पाउनुपर्ने दाबी गर्नु स्वभाविक भएको कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका सचेतक पुकार महर्जनले बताए। “एमालेले पनि सभामुखको दाबी गरिरहेको छ, हामीले सत्तारुढ दलको बीचमा सहमति कायम गरेर अघि बढ्न चाहिरहेका छौँ‚” उनले भने, “ठूलो दलको नाताले कांग्रेसलाई सभामुख दिनुपर्छ भन्ने हो।” सत्तारुढ दलबीच सहमति गरेर अघि बढ्ने उनको भनाइ छ।
अर्काे सत्तारुढ दल एमालेले कांग्रेसबाट मुख्यमन्त्री भएकाले सभामुख आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले कांग्रेसबाट मुख्यमन्त्री भएकाले सभामुखमा आफ्नो दलको दाबी रहेको बताउँदै त्यसमा दुई दलबीच कुनै विवाद नरहेको उल्लेख गरे। प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलबीच सहमति कायम गरेर सहमतिका आधारमा सभामुख चयन गर्न खोजेकाले केही ढिलाइ भएको उनको भनाइ छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता शालिकराम जम्कट्टेलले सरकार र सदनबीच सन्तुलन कायम राख्न प्रमुख प्रतिपक्ष दलको हैसियतले आफ्नो पार्टीले सभामुख पाउनुपर्ने बताए। सभामुखमा आफ्नो दलको दाबी रहेको बताउँदै उनले सत्तापक्षबीच सहमति नभए आफ्नो दलले सभामुखमा उम्मेदवारी दिने उल्लेख गरे।
“हामीले सत्तारुढ दललाई तपाईं सरकार चलाउनुस्, सदनको नेतृत्व हामीलाई दिनुस् भनिरहेका छौँ‚” उनले भने, “शक्ति सन्तुलनका लागि प्रतिपक्षको दाबी स्वभाविक हो, यसले एउटा राम्रो सन्देश जान्छ। सत्तारुढ दलबीच कुरा मिल्यो भन्ने ठिकै छ, नत्र हामीले उम्मेदवारी दिन्छौँ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभामुखमा आफ्नो पार्टी पनि दाबी गरेको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफ्ना पार्टीबाट सभामुख भएका पाठकले राजीनामा दिएकाले पुनः सभामुख आफ्नो दलले पाउनुपर्ने बताए।
एक सय चार सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३५, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीको २६, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सदस्य छन्।