बुटवल। नेपाल मेडिकल काउन्सिलले डा. शतिसकुमार रूपाखेतीलाई निलम्बन गरेको छ।
काउन्सिलले बुटवलमा उपचारका क्रममा ज्यान गुमाएकी पाल्पाको बगनासकाली गाउँपालिका २ की २९ वर्षीया गीता पाण्डेयको उपचारबारे छानबिनका लागि बनाएको समितिको सिफारिसका आधारमा रुपाखेतीलाई निलम्बन गरेको हो।
काउन्सिलका रजिस्ट्रार डा. शतिसकुमार देवले छानबिन समितिको सिफारिसका आधारमा शनिबार बसेको काउन्सिलको अनलाइन बैठकले छानबिनको अन्तिम रिपोर्ट नआएसम्मका लागि रूपाखेतीलाई निलम्बन गर्ने निर्णय भएको बताए।
समितिको सिफारिसअनुसार काउन्सिलले पाण्डेयको उपचारमा संलग्न भएका संस्था जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई बन्द गर्न जिल्ला प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ।
त्यस्तै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न सिफारिस भएको देवले बताए। उनले प्रारम्भिक छानबिनको रिपोर्ट तयार भएपनि काउन्सिलले थप छानबिन गर्ने र नेपाल प्रहरीको समेत छानबिनलाई आधार मानेर अर्को निर्णय लिने बताए।
“चिकित्सकहरूको आचारसंहिता २०१७ का आधारमा तत्कालका लागि निलम्बन गरिएको हो,” उनले भने, “छानबिनको अन्तिम प्रतिवेदन नआएसम्मका लागि अहिलेलाई उहाँले बिरामी जाँच्ने र अर्को कमजोरी नदोहोरियोस् भन्ने उदेश्यले निलम्बन गरिएको हो।”
छानबिन समितिको प्रारम्भिक प्रतिवेदनअनुसार गीतालाई गर्भपतनको औषधि उपलब्ध गराउने जोनल फार्मेसी र अन्तिम अवस्थामा गर्भपतनको सुविधा प्रदान गर्ने इन्दुलेखा स्वास्थ्य क्लिनिकले सेवा प्रवाहका लागि स्वीकृति नलिएको देखिएको छ। सोही इन्दुलेखामा रुपाखेतीले पाण्डेयको गर्भपतन गराएका थिए।
समितिले २६ पेजको प्रतिवेदनमा डाक्टरलाई कारबाही, स्वास्थ्यकर्मीलाई कारबाही, स्वास्थ्य संस्था बन्दको सिफारिसदेखि नियमित अनुगमन, प्रचलित कानुनविपरीत सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई दर्ता गराउने र नियमन गर्नेसम्मका सुझाव दिएको छ।
“समितिले प्राप्त गरेको कार्यादेशका आधारमा गीताको उपचारका प्राविधिक पक्षदेखि स्वास्थ्य संस्थाका कमजोरीका विषयसम्म औँल्याएको छ,” छानबिन समिति सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले भने।
छानबिन समितिले बुटवलमा धेरै क्लिनिक बिनाअनुमति बिरामीलाई जाँच गर्दै आएको र आफूले दिन पाउने इजाजतभन्दा बढी सुविधा दिइरहेको ठहर गरेको छ। बुटवलमा भएको घटनाले देशभरका निजी स्वास्थ्य संस्थाको सेवाप्रवाह, कानुनी वैधता र नागरिकको सेवा प्राप्त गर्ने अधिकारका विषयमा गम्भीर रूपमा अध्ययन गर्नुपर्ने देखिएको काउन्सिलका उपाध्यक्ष डा. कुन्जाङ शेर्पाले बताए।
घटना विवरणअनुसार गीताको १३ साताभन्दा बढीको गर्भपतन गराउने क्रममा ६ वैशाखमा मृत्यु भएको थियो। गीताको मृत्युपछि काउन्सिलका केन्द्रीय सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समिति सदस्यमा पदमराज पन्त, राजेन्द्र बस्याल, अनुप पन्थी, अधिवक्ता गोविन्दप्रसाद मरासिनी र दिनेश पाण्डे सदस्य थिए।