काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ बैशाख २०८३
अ+
अ-

नेपालगन्ज। स्थानीय परिकार प्रहिचान र प्रवर्द्धन गर्ने उद्देश्‍यले नेपालगन्जमा ‘नेपालगन्ज स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा होटेल व्यवसायी संघ बाँके र होटेल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म सञ्‍चालन रहनेछ। सुर्खेत रोडस्थित सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म महोत्सव सञ्चालन भइरहेको छ।

महोत्सवलले नेपालगन्ज तथा बाँकेको पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय परिकारको पहिचान स्थापित गर्ने र होटेल व्यवसायलाई सुदृढ बनाउनु रहेको होटेल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताएका छन्। कार्यक्रममा स्वदेशी पर्यटकसँगै छिमेकी मुलुक भारतबाट गरी पाँच हजार मानिसको सहभागिता छ।

महोत्सवमा स्ट्रिट फुडदेखि पाँचतारे होटलस्तरीय विभिन्न परिकार एउटै स्थानमा उपलब्ध गराइएको छ। साथै स्थानीय स्वादिष्ट खाना, परम्परागत तथा आधुनिक खानाका परिकार, पेय पदार्थ, कला-संस्कृति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि भइरहेका छन्। महोत्सवमा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूले ४० स्टल राखेका छन्।

फेस्टिभलमा स्थानीय कलाकारका परम्परागत नृत्यदेखि ‘फिरन्ते’, ‘द जाप्पर्स’, ‘रकहेड्स’, ‘द ब्ल्याक होल’ र गायक रामकृष्ण ढकाल, कलाकार विजय बराल, वर्षा राउत, मेक्सम गौडेलसहित कलाकारले लाइभ म्युजिकसहितको प्रस्तुति दिनेछन्।

त्यसैगरी स्थानीय कलाकारदेखि रसियन कलाकारसम्मको नृत्य पनि छ। फेस्टिभलमा सहभागी आगन्तुकले विभिन्न प्रकारका खानाका स्टल, लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुति र अफरहरूको अनुभव लिन सक्नेछन्।

यसले स्थानीय उत्पादन र व्यवसायीलाई प्रोत्साहन गर्ने र नेपालगन्जलाई ‘फुड डेस्टिनेसन’का रूपमा चिनाउने विश्वास गरिएको छ। दिउँसो गर्मी हुने भएका कारण साँझ ६ बजेदेखि राति ११ बजेसम्म हुने खानाका परिकारदेखि लाइभ म्युजिकहरुको पनि कार्यक्रम छन्।