काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ बैशाख २०८३
अ+
अ-

काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने कार्य शनिबार बिहानदेखि सुरक्षाकर्मीको कडा उपस्थितिमा सुरु गरिएको छ। अनधिकृत घरटहरा हटाउन डोजर परिचालन गरिएको छ भने सो क्षेत्रको सुरक्षा व्यवस्था थप कडाइ गरिएको छ।

यसैबीच, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरको आधिकारिक धारणा सार्वजनिक गरेकी छन्। शुक्रबार नगर कार्यपालिका सदस्यहरूसँग भएको छलफलपछि उनले उक्त धारणा सार्वजनिक गरेकी हुन्।

डंगोलका अनुसार, सार्वजनिक, ऐलानी, सरकारी तथा सामुदायिक जग्गा संरक्षण गर्ने क्रममा महानगरले मानव अधिकारका न्यूनतम मूल्य–मान्यतालाई सधैं प्राथमिकतामा राख्दै आएको छ। नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको निर्णय र अनुरोधअनुसार नदी किनार तथा सार्वजनिक स्थानमा रहेका अनधिकृत संरचना हटाउने कार्यमा महानगरले सहयोगी भूमिका निर्वाह गरिरहेको उनले बताइन्।

उनले यस्तो कार्य गर्दा सम्मानजनक र मानवीय व्यवहार अपनाउने, विशेषगरी जेष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन्। साथै, सकेसम्म विवादरहित र सुरक्षित तरिकाले व्यवस्थापन गर्दै कानुन र न्यायअनुसार काम अघि बढाइने उनले स्पष्ट पारिन्।

महानगरले यस प्रक्रियामा आवश्यक समन्वय र सहयोगका लागि सम्बन्धित निकाय, पदाधिकारी तथा सर्वसाधारणसँग पनि आग्रह गरेको छ।