काठमाडौँ । सुकुमबासी बस्ती हटाउने क्रममा अवरोध हुन सक्ने आशङ्कामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कार्मी र दिनेश सुनार रहेका छन्। उनीहरूलाई थापाथली क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।
यसअघि शुक्रबार प्रहरीले सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियारलाई पनि पक्राउ गरेको थियो। २०७९ सालमा काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउन खोज्दा परियारले महानगरका सुरक्षाकर्मीमाथि आक्रमण गरेको आरोप छ। उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको एसपी भट्टराईले बताए।
सरकारले आजबाट थापाथली, गैह्रीगाउँ र मनहरा फाँटका सुकुमबासी बस्ती खाली गराउने अभियान सुरु गरेको छ। सम्भावित अवरोधलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति बढाइएको छ।