काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। सरकारले काठमाडौं महानगरपालिका ९‚ गैरीगाउँ र वडा नम्बर ३१ शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ।

​यसै क्रममा वडा ११ स्थित थापाथलीमा रहेको बस्ती शनिबार मध्याह्न साढे १२ बजे खाली गराएको छ।

बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानीमा सहयोग गरेका थिए। बसोबास गरिरहेका नागरिकले समेत सरकारको यस कदममा ऐक्यबद्धता जनाउँदै सहयोग गरेपछि थापाथलीको बस्ती स्थानान्तरण कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ।

​हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगरमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन्।

बस्तीमा कोही छुटेका छन् कि भनी खोजी तथा उद्धार कार्य पनि जारी राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

​सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरिएको छ।

उनीहरूलाई तत्कालका लागि काठमाडौँका विभिन्न होटलमा बसोबासको व्यवस्था मिलाइएको छ। यस्तै घरायसी सामान रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यास नेपालमा छुट्टाछुट्टै स्थान तय गरी सुरक्षित रूपमा भण्डारण गरिएको छ।

​यसैबीच कागेश्वरी मनोहरा नगरपालिका ८‚ गोठाटार बुद्धचोक र वडा ९ को मनोहरा टोलमा रहेका बस्तीहरू आजै खाली गर्ने तयारी भए पनि आजको लागि उक्त प्रक्रिया रोकिएको छ।