बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा स्काभेटर दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन्।
सडक निर्माणका क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना हुँदा बाजुराको नरहरिनाथ गाउँपालिका २ का १८ वर्षीय महेश रावल बेपत्ता भएका हुन्।
सडकका लागि बाटो खन्ने क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।
दुर्घटनामा चालक र सहचालक सकुशल रहेका बताउँदै उनले बेपत्ता भएका युवकको जगन्नाथ प्रहरीचौकी जुड्डी, इलाका प्रहरी कार्यालय कोल्टी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित सेनाको समन्वयमा खोजी भइरहेको उल्लेख गरे।
बाजुरा र कालीकोटको सिमाना रहेको लैफुडाँडामा स्काभेटरले सडकका लागि बाटो खन्ने क्रममा दुर्घटना भएको हो।