काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

स्थानीयको सहभागिता न्यून

१३ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँको टोखा नगरपालिकाले सञ्चालन गरेको जन्मनासाथ बच्चाको खातामा पाँच हजार रुपैयाँ जम्मा गरिने कार्यक्रममा स्थानीयको सहभागिता न्यून देखिएको छ। नगरपालिकाले चालु आवदेखि सञ्चालन गरेको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रममा स्थानीय बासिन्दाको सहभागिता न्यून देखिएको हो।

बालबालिकाको जन्मेपछि नगरपालिकाले पाँच हजार रुपैयाँ ती बालबालिकाका नाममा खाता खोली राखिने कार्यक्रम कम जनचासो भएकाले सहभागिता पनि न्यून देखिएको सरोकार भएकाहरू बताउँछन्।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले स्थानीयमा आकर्षण नभएकाले थोरै मात्र बच्चाको बैंक खातामा रकम जम्मा भएको बताए ।

“हाम्रो उद्देश्यले बच्चा जन्मनासाथ उसलाई केही आर्थिक होस् भनेर पाँच हजार रुपैयाँ दिने भनेका थियौँ,” उनले भने, “तर त्यो कार्यक्रमअनुसार न्यून बच्चाको बैंक खाता खोलिएको छ।”

उनका अनुसार अहिलेसम्म चार बालबालिकाको मात्र बैंक खाता खोली पाँच हजार रुपैयाँजम्मा गरिएको छ। नगरपालिकामा वार्षिक एक हजार ७६६ बच्चा जन्मने प्रक्षेपण गरिएको शाखा प्रमुख कुलालले जानकारी दिए। उनका अनुसार बच्चालाई पाँच हजार रुपैयाँ उपलब्ध गराउनका लागि बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनुपर्ने र नगरपालिकाले तोकेको अस्पतालमा सुत्केरी गराउनुपर्ने व्यवस्था छ।

“हामीले तोकेको अस्पतालमा नगई अन्यन्त्र गएर सुत्केरी गराएका हुन सक्छन्,” उनले भने, “त्यसैले होला एक वर्ष हुन लाग्दा एकदम न्यून सङ्ख्यामा मात्र बच्चाको बैंक खाता खोलिएको छ।”

नगरपालिकाले टोखा चन्डेश्वर, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, वीर अस्पताललगायतमा सुत्केरी गराउनुपर्ने भनी तोकेको छ।

कतिपयले तोकेकाबाहेक अस्पतालमा सुत्केरी गराउँदा आमाबाट जन्मेका बच्चाको खातामा पाँच हजार रुपैयाँ जम्मा गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुलालले बताए।