काठमाडौँ। अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीहरूलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।
अहिलेसम्ममा कम रक्तचाप भएका चार पुरुष दुई महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका दुई पुरुष, टाउको दुखाइ भएका १८ पुरुष र ६ महिला, गर्भवती दुईजना, काटेर चोटपटक लागेका एकजना र विभिन्न अरू समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ।
यस्तै मनोसामाजिक परामर्शका लागि बहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरूले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएका छन्। पारिवारिक तथा रोजगारीका कारण मनमा धेरै कुरा खेलाउने, बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिनेजस्ता विषयमा धेरै चिन्ता देखिएको, स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालले जानकारी दिए।
यस्तै सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरलाई स्नेहा केयर, क्याटलगायत संस्थाहरुले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने कार्य गर्दै आएको छ।
साथै घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कामसमेत गरिरहेको छ।
