काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

मुस्ताङ। मुस्ताङको जोमसोममा लेक लागेर एक भारतीय पर्यटकको मृत्यु भएको छ। भारतको तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आइतबार जोमसोममा लेक लागेर मृत्यु भएको हो।

भारतबाट भानुसहित २४ जनाको टोली मुक्तिनाथ दर्शन जोमसोम पुगेको थियो। मुस्ताङको घरपझोङ गाउँपालिका ४‚ जोमसोमस्थित होटेल प्राइड अगाडि गाडीबाट ओर्लिने क्रममा भानुलाई लेक लागेर श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भारतीय पर्यटक भानुलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पुर्‍याएको थियो। अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको उनले जानकारी दिए।

योसँगै मुस्ताङमा चालु आवको भदौदेखि हालसम्म पाँच विदेशी पर्यटकसहित आठजनाको हाइअल्टिच्युडका कारण लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार भारतीय पर्यटक चार, मेक्सिकोका एक र तीन नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो।