काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ बैशाख २०८३
मनोहरामा अतिक्रमित संरचना हटाइँदै भक्तपुर, १३ वैशाखः मनोहरामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना आइतबार डोजर प्रयोग गरी हटाइँदै । तस्बिरः किरणराज विष्ट÷रासस
अ+
अ-

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका ७० प्रतिशत घर, टहरा तथा संरचना आज भत्काइएको छ ।

आज बिहान १०ः०० बजेदेखि काठमाडौँ महानगरपालिकाबाट आएका सात वटा डोजरको सहायताले सुकुमवासी बस्तीका ७० प्रतिशत संरचना भत्काइएको हो ।

पछि असिनापानी परेर बिथोलिएकाले आजको संरचना भत्काउने कार्यलाई स्थगित गर्नुपरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

आज भत्काउन बाँकी भएका संरचनालाई भोलि सोमबार भत्काइने जानकारी दिँदै उनले हिजोसम्म ८० प्रतिशतले सबै सामान सारेकाले आज बस्तीका बाँकी बासिन्दाले पनि सबै सामान सारेर सहज गरेका उल्लेख गरे ।

आजका लागि सुकुमवासी बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ४०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी गरी दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए  ।

सोमबारसम्म सबै संरचना भत्काइने उनले बताए । यहाँबाट बस्ती छाडेको वास्तविक सुकुमवासीलाई दशरथ रङ्गशालामा पठाइएको बताउँदै त्यहाँबाट उनीहरूलाई खान र बस्नका लागि होल्डिङ सेन्टरमा पठाइएको उल्लेख गरे ।