चितवन। राप्ती नदीमा भेटिएका घडियाल गोहीका १७ गुँडमध्ये सात गुँडबाट अन्डा संकलन गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जले गत १ चैतदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार सात गुँडबाट १९५ वटा अन्डा संकलन गरिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानवीय र वन्यजन्तुको खतरा भएका गुँडबाट अन्डा संकलन गर्ने गरिन्छ। गत वर्ष राप्ती नदीमा १८ वटा गुँड भेटिएकामा तीबाट २३२ वटा अन्डा निकालिएको उनले जानकारी दिए।
सूचना अधिकारी थापामगरले भने, “जोखिम क्षेत्रमा रहेका गुँडबाट मात्रै अन्डा संकलन गरिएको हो। सुरक्षित स्थानमा रहेका गुँडका अन्डालाई प्रकृतिमै छाडिएको छ। संकलित अन्डा कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिएको छ।”
केन्द्रमा हरेक वर्ष संकलन गरी ल्याइएका अन्डालाई कोरलेर पाँच वर्ष पुगेका गोहीलाई नदीमा छाड्ने गरिन्छ। अघिल्ला वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोजिएको सूचना अधिकारी थापामगरले बताए।