काठमाडौँ। विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला चौबीस घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो। घटनामा अन्य २५ जना घाइते भएका छन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चट्याङबाट सबैभन्दा बढी पाँचजनाको मृत्यु भएको छ। यस्तै आगलागीबाट एक, लेक लागेर दुई र सर्पदंश तथा जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले जानकारी दिइन्।
यस अवधिमा चट्याङका ३८ वटा घटना भएकामा १९ जना घाइते भएका छन्। ती घटनाबाट ३८ लाख रुपैयाँको भौतिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ। देशका विभिन्न ५२ जिल्लामा विपद्का घटना भएको थिए।
प्राधिकरणका अनुसार पछिल्ला १४ दिनमा मात्रै विपद्बाट ३३ जनाको मृत्यु भएको छ। १२१ जना घाइते भएका छन्। यस अवधिका ५४४ वटा विपद्का घटना भएका थिए।