काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। गभर्नर विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउने नेपाल राष्ट्र बैंकको प्रतिबद्धता रहेको बताएका छन्।

नेपाल राष्ट्र बैंकको ७१औँ वार्षिकोत्सवमा उनले सरल, नियमन, प्रभावकारी सुपरिवेक्षण, नीतिगत सुधार तथा प्रविधिमैत्री वित्तीय प्रणालीमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने प्रयास रहेको बताए। उनका अनुसार पछिल्लो समय पश्चिम एसियाको युद्धले समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावको नियमित अध्ययन गरी सजग रहन आवश्यक छ। गर्भनर पौडेलले गत आव ०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार विश्व अर्थतन्त्रको अवस्थाबारे समीक्षा गरेका थिए।

प्रतिवेदनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को २०२६ अप्रिलका अद्यावधिक वर्ल्ड इकोनोमिक आउटलुक(डब्ल्यूईओ) का अनुसार विश्व अर्थतन्त्र बढ्दो अनिश्चितता र जोखिममा रहेको जनाइएको छ। पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र यसबाट सिर्जित आपूर्ति अवरोध र इन्धनको मूल्य उतारचढावले विश्व अर्थतन्त्र प्रभावित भएको उनले बताए।

कार्यक्रममा पूर्वगर्भनर युवराज खतिवडाले देशको अर्थतन्त्रलाई बलियो बनाउने आधार आन्तरिक उत्पादनशील नै रहेको बताएका छन्। उनले बाहिरी स्रोतले केही आर्थिक स्थितिमा सुधार देखिए जस्तो लागे पनि वास्तवमा त्यो दीर्घकालीन नभएको बताए। उनले भने, “देशको अर्थतन्त्र मोटाएको छैन, सुन्निएको हो।”

कार्यक्रममा बैंकका सर्वोत्कृष्ट एक र अन्य उत्कृष्ट सात कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने २० वर्ष सेवा अवधि पूरा गरेका १७ कर्मचारीलाई दीर्घकालीन सेवा सम्मान प्रदान गरिएको थियो।