सेयरबजार
नेप्सेमा सोमबार तीन कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकल अंकले बढेको छ।
आज नेप्से ७.७३ अंकले बढ्दै २७९६.४३ विन्दुमा अडिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.२७ प्रतिशतले बढी हो। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.६४ अंकले बढेर ४६९.७२ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.३५ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.४० र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३९ प्रतिशतले बढेको छ।
सेयरबजारमा सोमबार ३५१ कम्पनीको ८१ हजार ६ पटकको कारोबारमा एक करोड नौ लाख २८ हजार ६१७ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ रुपैयाँको कारोबार भयो।
सेयर बजारमा आज १५७ कम्पनीका सेयरमूल्य बढे। १०२ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १० कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा आठ समूहको उपसूचक बढे भने बाँकी पाँच समूहका सूचक ओरालो लागे।
जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक ०.६८‚ विकास बैंक १.१४‚ फाइनान्स ०.४४‚ होटेल तथा पर्यटन समूहको सूचक ०.९७ प्रतिशतले बढ्यो।
जलविद्युत् ०.१९ र लगानी समूहको सूचक ०.२८ प्रतिशतले घट्दा जीवन बिमा ०.१३‚ उत्पादन तथा प्रशोधन १.५२ र लघुवित्त ०.२९ प्रतिशतले बढेको छ।

यस्तै म्युचुअल फन्ड समूह ०.०७ प्रतिशतले घट्यो भने निर्जीवन बिमा समूहको सूचक ०.१२ प्रतिशतले बढ्यो। अन्य समूह ०.४४ र व्यापार समूहको उपसूचक १.३९ प्रतिशतले घटेको छ।
नेप्सेमा सोमबार तीन कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। अर्थात सेयरमूल्य १५ प्रतिशतले बढ्यो। सकारात्मक सर्किट लाग्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड‚ पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडका सेयरधनीले १५ प्रतिशतले आम्दानी गरे। यसैगरी निफ्रा ग्रिन इनर्जीको डिबेन्चरका लगानीकर्ताले १४.०१ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा रिलायन्स स्पनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। आज रिलायन्सको ३० करोड ७४ लाख ५५ हजार ४४१ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज एनएमबी हायब्रिड फन्ड सबैभन्दा अगाडि रह्यो। सोमबार यसको १० लाख तीन हजार १२७ युनिट किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतियुनिट नौ रुपैयाँ ६५ पैसा कायम रह्यो।