काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ बैशाख २०८३
अ+
अ-

काठमाडौँ । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ ।
सिनेमाको २ मिनेट लामो ट्रेलरमा निर्देशक सहारा शर्माले विवाह र सम्बन्धलाई लिएर परिवारभित्र बुनिएको जटिलतालाई सहजरुपमा चित्रण गरेकी छन्।

मुख्य पात्र आँचल विवाहलाई लिएर खुसी छैनन्। परिवार भने उनको विवाहमा सामाजिक प्रतिष्ठा देखिरहेको छ। यसबीच, परिवारभित्र आउने सम्बन्ध र अपेक्षाको उतारचढावले ट्रेलरलाई रोचक बनाएको छ।

सिनेमामा आँचलसहित नीशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायत कलाकारको अभिनय छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति समेत रहेकी नीशा करिब तीन दशकपछि यही सिनेमामार्फत अभिनयमा फर्किएकी हुन्।

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेको सिनेमामा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्मातामा छन्। निर्माण टोलीमा जर्मनका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेलसमेत छन्। थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको सिनेमामा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन तथा भारतकी दीपा भाटियाको सम्पादन रहेको छ।

एक मुठ्ठी बादल आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने छ।