काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सशक्त रूपमा बहन गर्ने बताएका छन्।
संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएपछि आज (सोमबार) दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग उनले सत्तामा रहेकालाई सही काम गर्न सशक्त भूमिका निर्वाह गरिने बताए। संसदीय दलको नेताका हैसियतमा आफूले त्यो भूमिकालाई थप प्रभावकारी बनाउन लाग्ने नेता आङ्देम्बेको भनाइ थियो।
“सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको सशक्त प्रतिवाद गर्छौँ। सत्तामा रहनेले लोकतान्त्रिक संस्कार र प्रणालीमा घोचपेच गरेमा सचेत गराउँछौँ‚” उनले भने।
उनले दलको प्रमुख सचेतक र सचेतकलगायत बाँकी पदाधिकारी चौबीस घण्टाभित्र मनोनयन गर्नेगरी छलफल भइरहेको जानकारी दिए।