काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफ्नो कार्यकालमा नातावाद, भनसुन, भ्रष्टाचार तथा कानुनविपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री बादीले जनताको विश्वास र आशा बोकेर जिम्मेवारी सम्हालेको करिब पाँच हप्ता पुगेको उल्लेख गरेकी छन्। यस अवधिमा आफूले पदमा रहँदा नगर्ने कार्यहरूको सूचीसमेत सार्वजनिक गर्दै पारदर्शिता र सुशासनप्रति दृढ अडान प्रस्तुत गरेकी हुन्।
उनले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा जागिर दिने, नियुक्ति गर्ने वा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने जस्ता कार्य नगर्ने स्पष्ट पारेकी छन्। साथै, कानुनविपरीत भनसुन, शक्तिको दुरुपयोग तथा गलत कार्यमा संलग्न व्यक्तिको संरक्षण गर्ने गतिविधिमा आफू संलग्न नहुने बताएकी छन्।
मन्त्री बादीले लागूऔषध, ठगी, जालसाजी, कुटपिट र तस्करीजस्ता अपराधमा संलग्न व्यक्तिलाई कुनै पनि हालतमा संरक्षण नगर्ने र घुस, कमिसन वा अन्य प्रकारका भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता जनाएकी छन्।
उनले महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति लगायत सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैं आवाज उठाउने बताएकी छन्।
त्यसैगरी, राज्यका स्रोत–साधनको दुरुपयोग नगर्ने, सरकारी सेवा छिटो गराइदिन भनसुन वा सिफारिस स्वीकार नगर्ने तथा मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा, क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी नलिने समेत उनले उल्लेख गरेकी छन्।
‘भोट दिएको आधारमा कुनै दबाब वा प्रभावमा पर्ने छैन, सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु,’ मन्त्री बादीले लेखेकी छन्।
नागरिकका दुःख, आपत् र अप्ठ्यारोमा आफू सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासन नागरिक र सरकारको साझा प्रयासबाट मात्र सम्भव हुने बताएकी छन्। साथै, नियमको सम्मान, न्यायको साथ र समाजहितलाई प्राथमिकता दिन सबैलाई आह्वान गरेकी छन्।