काठमाडौँ। सिन्धुलीको सुनकोसी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा प्रहरीले किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ। हिरासतभित्र ७ वैशाखमा छोराको मृत्यु भएपछि श्रीकृष्णकी आमा विन्दामाया विश्वकर्माले यातना तथा ज्यानसम्बन्धी कसुरमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोजेकी थिइन्।
विश्वकर्माले जाहेरी दरखास्त लिएर जाँदा प्रहरीले दर्ता इन्कार गर्दै दरपीठसमेत नगरेकाले आवश्यक प्रक्रिया अवलम्बनको माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय सिन्धुलीमा निवेदन दिएकी थिइन्। त्यहाँ पनि उजुरी लिइएन।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ५ अनुसार प्रहरीले उजुरी दर्ता गर्न इन्कार गरेमा सम्बन्धित सरकारी वकिल कार्यालयमा उजुरी गर्न सक्ने व्यवस्था छ। उजुरी प्राप्त भएपछि सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा प्रहरी कार्यालयले त्यसको अभिलेख राखी जाहेरी दरखास्त वा सूचना कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ।
“हिरासतमा मेरो छोराको यातनापछि मृत्यु भएको हो। प्रहरी र सरकारी वकिल दुवैले मेरो जाहेरी दर्ता गर्न मानेनन्। मैले हुलाकमार्फत जाहेरी पठाएकी छु‚” विन्दामायाले भनिन्। प्रहरी र सरकारी वकिलले जाहेरी दर्ता गर्न अस्वीकार गरेको अधिवक्ता कुमार थपलियाले जानकारी दिएका छन्।
विन्दामायाले इलाका प्रहरी कार्यालय सिन्धुलीका तत्कालीन प्रहरी निरीक्षक बीबी भुजेल, प्रहरी उपरीक्षक लालध्वज सुवेदी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सहायक हिरासत इन्चार्ज, प्रहरी वृत्त ललितपुर सातदोबाटोका तत्कालीन प्रहरी प्रमुख र हिरासत इन्चार्जविरुद्ध किटानी जाहेरी दिएकी हुन्।
न्यायिक छानबिनको माग गर्दै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, अधिकारकर्मीहरू जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा दुई दिन धर्नामा बसेका थिए। जातीय हिंसाका कारण २२ वर्षीय युवाले ज्यान गुमाउनुपरेको भन्दै दोषीलाई कारबाहीको मागसहित उनीहरू धर्नामा बसेका थिए।
प्रहरीको केन्द्रीय कार्यालयले श्रीकृष्णको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन ११ वैशाखमा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यको संयोजकत्वमा छानबिन समितिसमेत बनाएको छ। जबरजस्ती करणी मुद्दा अनुसन्धानका लागि सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थपेर इलाका प्रहरी कार्यालय खुर्कोटको न्यायिक हिरासतमा रहेकै बेला आत्महत्याको प्रयासबाट श्रीकृष्णको मृत्यु भएको प्रहरीको दाबी थियो। तर, हिरासतमा यातना दिइएका कारण उनको मृत्यु भएको परिवारजनको आशंका छ।

