अबुधाबी। संयुक्त अरब इमिरेट्स (यूएई) ले लगभग ६० वर्षपछि प्रमुख तेल उत्पादक समूहहरू ओपेक र ओपेक प्लसबाट बाहिरिने घोषणा गरेको छ।
यूएईले यो निर्णयले यसको ‘दीर्घकालीन रणनीति, आर्थिक दृष्टिकोण र परिवर्तनशील ऊर्जा प्रोफाइल’ लाई प्रतिबिम्बित गरेको बताएको छ।
यूएईका ऊर्जामन्त्रीले भने कि यी समूहहरूअन्तर्गत कुनै पनि दायित्वबाट मुक्त हुनुले देशलाई अझ बढी लचिलोपन प्रदान गर्नेछ।
यूएई १९६७ मा ओपेकमा सामेल भएको थियो। यसको बहिर्गमनले तेल समूहलाई ११ सदस्यमा घटाउनेछ।
यो निर्णयलाई ओपेकका लागि झट्का मानिएको छ। एमएसटी फाइनान्सियलका ऊर्जा अनुसन्धान प्रमुख साउल काभोनिकले ओपेकका लागि यो अन्त्यको सुरुवात भएको प्रतिक्रिया दिएका छन्।
उनले भने, “यूएईको बहिर्गमनसँगै ओपेकले आफ्नो क्षमताको लगभग १५ प्रतिशत र यसको सबैभन्दा अनुशासित सदस्यहरूमध्ये एक गुमाउनेछ।”
ओपेकको पछिल्लो तथ्यांकअनुसार यूएईले वार्षिक २९ लाख ब्यारेल तेल उत्पादन गर्दछ। ओपेकको सबैभन्दा ठूलो उत्पादक साउदी अरेबियाले वार्षिक ९० लाख ब्यारेल तेल निकाल्छ।
यूएईको यो बहिर्गमनले आगामी दिनमा तेलको मूल्य निर्धारणमा ओपेकको एकाधिकार कमजोर हुन सक्ने अनुमान गरिएको छ। यूएईले स्वतन्त्र रूपमा तेल उत्पादन बढाए विश्व बजारमा कच्चा तेलको आपूर्ति बढ्ने र यसले मूल्यमा समेत प्रभाव पार्ने देखिन्छ। अफ्रिकी देश अंगोलाले पनि यसअघि ओपेक छाडिसकेको छ।