हावाहुरीको जोखिम
काठमाडौँ। पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार १ वैशाख २०७३ देखि २५ माघ २०८२ सम्मको अवधिमा कुल एक हजार ५१९ वटा हावाहुरीका घटना भएका छन्।
यो अवधिमा हावाहुरीका कारण १०१ जनाले ज्यान गुमाएका छन्। एकजना बेपत्ता भएका छन्। त्यस्तै एक हजार ५७२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ। आठ हजार ५०४ परिवार यस अवधिमा प्रभावित बनेका छन्। हावाहुरीबाट मानवीय क्षतिसँगै भौतिक क्षति पनि ठूलो मात्रामा हुने गरेको छ।
विशेषगरी तराई तथा मध्य पहाडी क्षेत्रमा हावाहुरीको प्रभाव बढी देखिने गरेको विज्ञहरू बताउँछन्। करिब ५३ करोड आर्थिक क्षति यस अवधिमा भएको तथ्याङ्कमा उल्लेख छ। प्राधिकरणको तथ्याङ्कअनुसार यही १ देखि १६ वैशाखसम्म देशभर विभिन्न प्रकारका प्राकृतिक विपद्का ६१६ घटना भएका छन्। यी घटनामा ३४ जनाको मृत्यु भएको छ। १३९ जना घाइते भएका छन्। यस अवधिमा हावाहुरीका ४४ घटनाले ३१९ परिवार प्रभावित भएका छन्। करिब ८३ लाख रुपैयाँको क्षति पुगेको प्राधिकरणले जनाएको छ।
जलवायुविद् मनीष पाण्डेले जलवायु परिवर्तनका कारण हावाहुरीको प्रकृति तथा तीव्रता परिवर्तन हुँदै गएको भन्दै सरोकारवालाले पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए। उनका अनुसार जलवायु जोखिम न्यूनीकरणका लागि जलवायु न्यूनीकरण र अनुकूलनलाई प्राथमिकतामा राख्दै पूर्वसूचना प्रणालीलाई अझ व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन आवश्यक छ।
“जोखिम न्यूनीकरणका लागि जलवायु न्यूनीकरण र अनुकूलनलाई प्राथमिकता दिँदै पूर्वसूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउनुपर्छ र त्यसमा लगानी पनि बढाउनुपर्छ‚” पाण्डेले भने। उनका अनुसार हावाहुरीजन्य जोखिम न्यूनीकरणका लागि स्थानीय तहदेखि केन्द्रसम्म समन्वय बढाउनुका साथै सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनु अपरिहार्य छ।
हिमाल आरोही र पदयात्रीलाई सतर्कता अपनाउन आग्रह
हावाहुरीको सम्भावित प्रभावका कारण हिमाल आरोहण तथा पदयात्रामा जाने पर्यटकहरूलाई सतर्कता अपनाउन पर्यटन विभागले आग्रह गरेको छ। विभागले मार्ग प्रयोग गर्ने क्रममा आरोही तथा सहयोगी टोलीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी बरफका ठूला ढिस्का (सेराक) खस्ने सम्भावना रहने क्षेत्रमा जोखिम उच्च रहने भएकाले सावधानी आवश्यक रहेको जनाइएको छ। पर्यटन विभागले सबै आरोहीलाई सुरक्षित र सफल आरोहणको शुभकामना दिँदै जोखिम न्यूनीकरणका उपायहरू पालना गर्न अनुरोध गरेको छ।
विभागका निर्देशक तथा सूचना अधिकारी हिमाल गौतमले मौसमसम्बन्धी पूर्वसूचनालाई आधार मानेर यात्रा गर्न आवश्यक रहेको बताए। उनका अनुसार हालका लागि पदयात्रा पूर्णरूपमा रोकिएको छैन। तर हिमाल आरोहीहरूले भने मौसमको अवस्थालाई नजिकबाट मूल्याङ्कन गरेर मात्रै अगाडि बढ्नुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे।
“अहिले पदयात्रा रोकेका छैनौँ। हिमाल आरोहीहरूले मौसम हेरेर मात्रै अगाडि बढ्छन्। तर ट्रेकिङमा जाने पर्यटकहरूलाई असर पर्न सक्छ,” गौतमले भने, “हामीले रोक्न सक्दैनौँ, तर मौसम विज्ञान विभागले जारी गरेको विशेष सूचनाका आधारमा सबैलाई सतर्कता अपनाउन अनुरोध गरेका छौँ।”
विभागका अनुसार यस सिजनमा २९ वटा हिमालका लागि आरोहण अनुमति जारी गरिएको छ। ती हिमालहरूका लागि कुल ९९९ आरोही र ११८ समूहका लागि आरोहण अनुमति स्वीकृत भएको छ।
त्यस्तै सगरमाथा आरोहणका लागि मात्रै ४२५ जना आरोहीले अनुमति प्राप्त गरेका छन्। आरोहीबाट करिब एक अर्ब सात करोड ८७ लाख राजस्व सङ्कलन भएको छ। पर्यटन विभागले मौसमी अवस्थालाई ध्यानमा राख्दै यात्रा तथा आरोहण गर्दा अनिवार्य सावधानी अपनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
जोखिम बढ्ने अवस्था आएमा पदयात्रा रोकिने
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले सगरमाथा क्षेत्रमा सम्भावित हावाहुरीको अवस्थाबारे विभागसँग समन्वय गरी आवश्यक निर्णय लिने बताइन्। उनका अनुसार हावाहुरीसम्बन्धी सूचना सार्वजनिक गर्दै सगरमाथा आरोही, पदयात्री तथा सरोकारवालालाई सचेतना बढाउने उद्देश्यले जानकारी प्रवाह गरिएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत सचेतनामूलक सन्देश प्रवाह गरिएको छ।
“अहिलेको अवस्थामा पदयात्रा पूर्ण रूपमा रोक्ने निर्णय गरिएको छैन, तर सावधानी अपनाएर मात्रै यात्रा गर्न आग्रह गरेका छौँ,” पाण्डेले भनिन्, “यदि जोखिम बढ्ने अवस्था आयो भने तत्काल पदयात्रा रोक्न निर्देशन जारी गरिनेछ।” उनका अनुसार सम्भावित विपद्को प्रतिकार्यका लागि सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी तयारी अवस्थामा राखिएको छ। -रासस