काठमाडौँ। दलित महिला संघ (फेडो) ले रोल्पाको गंगादेव गाउँपालिका ५‚ फूलबासका भीमबहादुर खत्रीले १० वर्षीय बालक खगेन्द्र विकमाथि कुटपिट गरेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। फेडोले पीडकलाई कानुनअनुसार हदैसम्मको कारबाहीको माग गरेको छ।
११ वैशाखमा फुलबासका खत्रीले आफ्नो घरभित्र पसेको भन्दै विकलाई मरणासन्न हुने गरी कुटपिट गरी निधार फुटाइदिएका थिए। फेडोले आज (बुधबार) एक विज्ञप्ति जारी गरी जातका आधारमा गरिने त्यस किसिमको जघन्य अपराध, हिंसा, छुवाछुत र अपमानजनक व्यवहार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप भएको उल्लेख गर्दै पीडितलाई न्याय दिन माग गरेको हो।
“बच्चाको निधार फुटेर रगताम्मे भई ढलेपछि छोरालाई उपचार गर्न अस्पताल लैजाँदै गर्दा बुबा गोपाल विकलाई समेत खत्रीले धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको मानवताविरुद्धको यस घटनाले फेडोको गम्भीर ध्यानाकर्षण भएको छ‚” विज्ञप्तिमा भनिएको छ।
उक्त घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ। नयाँ सरकार निर्माण भएपछि राज्यका तर्फबाट हालैमात्र दलित समुदायउपर हुँदै आएको जातीय विभेद र अन्यायका लागि माफी मागिएको थियो।
