निजामती कर्मचारीको विवरण अब अनलाइनमै
काठमाडौँ। निजामती कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्न सक्ने भएका छन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती) ले आफ्ना सबै सेवाहरू बुधबारबाट अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।
योसँगै अब सेवाग्राही तथा सम्बन्धित कर्मचारीले निजामतीसम्बन्धी सेवाका लागि विभागमा भौतिक रूपमा उपस्थित हुनु पर्ने छैन।
अनलाइनमार्फत सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिकजस्ता सेवा आफ्नै स्थानबाट सेवा लिन सकिने किताबखानाले जनाएको छ।
आजदेखि पूर्ण रूपमा डिजिटल सेवा दिन सुरु गरेको किताबखानामा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले अनुगमनसमेत गरेकी थिइन्।
अनुगमनपछि मन्त्री रावलले प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी र गुनासोरहित बनाउन निर्देशन दिएकी छन्।
