मुस्ताङ। पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घटिरहेको छ। अनुकूल याममा समेत यो मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो अवस्थामा रहेको हो।
जोमसोम नागरिक उड्डयन कार्यालयकाका प्रमुख दीपक पोखरेलका अनुसार गत आव ०८१/८२ को साउनदेखि असार महिनासम्ममा २६ हजार ६४२ यात्रुले पोखरा-जोमसोम हवाई मार्गबाट सेवा लिएका थिए। गत वर्ष पोखराबाट जोमसोम १४ हजार १७२ र जोमसोमबाट पोखरा १२ हजार ४७० यात्रुले हवाई मार्ग प्रयोग गरेका थिए।
गत वर्ष तारा र समिट एयरलाइन्सको ट्विनेटर (साना जहाज) ले पोखरा-जोमसोम र जोमसोम-पोखरा गरी दुई हजार ४०६ उडान भरेको प्रमुख पोखरेलले बताए। चालु आव ०८२/८३ को साउनदेखि चैत महिनासम्ममा सात हजार ५८६ यात्रुले पोखरा-जोमसोम र जोमसोम-पोखरा हवाई सेवा प्रयोग गरेका उनले बताए।
पोखरेलका अनुसार चालु वर्षको नौ महिनामा ६ हजार १०५ विदेशी र एक हजार ४८२ नेपाली यात्रुले हवाई सेवा प्रयोग गरेका छन्। चालु आवमा पोखराबाट जोमसोम जाने हवाई यात्रुको सङ्ख्या तीन हजार ७९ र जोमसोमबाट पोखरा उड्ने यात्रुको सङ्ख्या चार हजार ५३९ छ।
यसैगरी चालु आवको नौ महिनामा पोखरा-जोमसोम दुईतर्फी उडान सङ्ख्या ९७० छ। जोमसोम नागरिक उड्डयन कार्यालयको तथ्यांकअनुसार गत आवको तुलनामा चालु आवको नौ महिनामा ४०.३१ प्रतिशत मात्रै हवाई उडान भएको छ। गत आवको हवाई यात्रुको तुलनामा चालु आवको नौ महिनामा १९ हजार ५६ कम यात्रुले हवाई यात्रा गरेको तथ्यांक छ।
पोखरा-जोमसोम हवाई उडान तथा यात्रुसङ्ख्या बर्सेनि घट्दै गइरहेको जोमसोमस्थित तारा एयरलाइन्सका स्टेसन इन्चार्ज सुजन लालचनले बताए। विगत वर्षमा पोखरा-जोमसोम दैनिक २५ उडानसम्म हुने गरेकामा पछिल्लो समय १० वटा उडान पनि हुन नसकेको उनको भनाइ छ। पर्यटकीययामको समयमा मध्यपूर्वको द्वन्द्वले विदेशी पर्यटकको आमगन सङ्ख्या घटेकाले हवाई उडानसमेत प्रभावित भएको उनको भनाइ छ। मध्यपूर्व द्वन्द्वले हवाई इन्धनको मूल्य बढेकाले हवाई भाडादर वृद्धि भएका कारण पनि हवाई यात्रु घट्न थालेको लालचनको भनाइ छ।
उनका अनुसार उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेकाले पोखरा-जोमसोम र जोमसोम-पोखरा हवाई यात्रु घट्दो अवस्थामा पुगेको छ।
जोमसोम विमानस्थलमा तारा र समिट एयरका दुई वायुसेवा कम्पनीले दैनिक १० नियमित उडान भर्ने गरेका छन्। सोभन्दा बढी उडान भर्नुपरे सम्बन्धित वायुसेवा कम्पनीले चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति लिनुपर्ने हुन्छ। मुस्ताङको धार्मिकस्थल मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने पर्यटकलाई लक्षित गर्दै पोखरा र काठमाडौँबाट हेलिकोप्टरमार्फत चार्टर्ड उडानसमेत हुँदै आएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ।