सिरहा। सीमावर्ती क्षेत्रका नागरिकहरू किनमेलका लागि भारतीय बजारमा निर्भर हुँदा नेपाली व्यवसाय धराशायी बन्दै गएको उल्लेख गर्दै सिरहाका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानले आज लहानमा आयोजना गरेको ‘नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको स्वागत तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरूले आफ्ना समस्या राख्दै सांसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
सरकारले रु १०० भन्दा बढी मूल्यका सामानमा भन्सार लगाउने नीतिको स्वागत गर्दै व्यवसायीहरूले यसलाई कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन्।
संघका जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्ताले विना भन्सारका सामान आयातमा पूर्ण रोक लगाउनुपर्ने र भन्सार दर घटाएर नेपाल–भारतबिचको सामानको मूल्यमा रहेको अन्तरलाई कम गर्न (मूल्य समायोजन) जोड दिए।
सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शिवशङ्कर यादवले सरकारले खुला र उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिएको बताए । उनले भने, “आर्थिक अभाव भएका विपन्न समुदाय घरायसी प्रयोजनका लागि भारतीय बजारमा निर्भर भए पनि खुला सीमाको फाइदा उठाएर हुने अवैध निकासी र तस्करी विरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको छ।”
सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले व्यवसायीहरूका गुनासा र चिन्ताप्रति आफू गम्भीर रहेको बताउँदै ती समस्या समाधानका लागि सम्बन्धित निकाय र सदनमा पहल गर्ने आश्वासन दिए।
व्यवसायीहरूले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने वातावरण बनाउन र सीमा नाकामा हुने तस्करी नियन्त्रण गरी स्वदेशी लगानी सुरक्षित गर्न नवनिर्वाचित सांसदहरूसँग आग्रह गरेका छन्।