काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ । नेपाली कांग्रेसले नवीकरण र नयाँ क्रियाशील सदस्यता विवरण केन्द्रीय ‘सिस्टम’मा प्रविष्ट गर्न छुटेका जिल्ला र क्षेत्रलाई एक हप्ताको समय दिएको छ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले बुधबारदेखि लागू हुनेगरी एक हप्ताभित्र नवीकरण र नयाँ सदस्यताको ‘इन्ट्री’ सम्पन्न गर्न निर्देशन दिएको हो।

बैठकले १५औँ महाधिवेशनको तयारीअन्तर्गत जिल्ला कार्यसमितिबाट नवीकरण र प्रतिनिधिसभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता ‘डिजिटल सिस्टम’मा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्लाको विवरण छुट्याउने निर्णय पनि गरेको छ।

त्यसैगरी, जनसम्पर्क समितिका हकमा यसअघि कायम गरिएको अनलाइन क्रियाशील सदस्यता भर्ने व्यवस्था निरन्तरता दिने निर्णय गरिएको छ। नेपाली नागरिकका लागि जनसम्पर्क समिति सदस्यता र कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउने व्यवस्था गरिनेछ भने अन्यको हकमा पार्टीको विधानअनुसार प्रक्रिया अपनाइने जनाइएको छ।

यसैबीच, नवीकरण प्रविष्ट भइसकेका जिल्लामा विभिन्न कारणले छुट भएका सदस्यताको हकमा केन्द्रमा निवेदन परेकालाई तोकिएको शुल्क लिएर वैशाख १६ गतेदेखि लागू हुनेगरी एक हप्तासम्म केन्द्रबाटै नवीकरण गरिने व्यवस्था गरिएको छ।

यस्तै, रिक्त रहेका वडा सभापतिका कारण सदस्यता अद्यावधिकमा समस्या भएका स्थानमा जिल्ला, क्षेत्र, केन्द्रीय प्रतिनिधि वा वडा कार्यसमितिले तोकेको व्यक्तिमार्फत डिजिटल प्रणालीमा विवरण अद्यावधिक गर्न सकिने निर्णय गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।