दाङ। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको छ।
पहिलो बैठकमा सङ्घीय सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, आगामी बजेटका प्राथमिकतालगायत विषयमा छलफल भएको हो। बैठकमा प्रदेशसभा सदस्यहरूले समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिएका छन्। शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको हो।
नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले राजनीतिक दलले देश निर्माणको हैसियत राख्ने बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले नयाँ अधिवेशनले प्रदेश विकासलाई गति दिने विश्वास व्यक्त गरिन्। प्रभावकारी नीति निर्माणमार्फत विकासका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै विगतका कमजोरी सच्याउनुपर्ने उनको धारणा छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक इन्द्रजित थारूले आवासविहीन सबै नागरिकलाई आवासको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले प्रदेशमा भूमि व्यवस्थापन ऐन छिटो ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सक्रिय भूमिका खेल्नुपर्ने बताए।
प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले इमानदारी र समावेशितामा आधारित बजेट निर्माण गर्नुपर्नेमा जोड दिए। प्रदेशसभा सदस्य हेमा बेल्वासेले विगतका गल्ती नदोहोर्याइ कार्यान्वयनयोग्य बजेट ल्याउनुपर्ने बताउँदै युवालाई लक्षित डिजिटल अर्थतन्त्रका कार्यक्रम समेट्न सुझाइन्।
प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले किसानका समस्या समाधान गर्ने गरी बजेट आउनुपर्नेमा जोड दिए। प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठले बजेट निर्माण गर्दा वास्तविक आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्नुपर्ने बताउँदै पारदर्शी र परिणाममुखी बजेट ल्याउनुपर्नेमा जोड दिइन्।