काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुग्ने भएका छन्। दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुरले ११ दिनअघि मात्र नेपाल भ्रमण सकेर फर्किएपछि गोरको भ्रमण हुन लागेको हो।
भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरले नेपाल बसाइका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने योजना बनाएका छन्। उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्ने इच्छा व्यक्त गरे पनि हालसम्म उक्त भेट औपचारिक रूपमा तय भइसकेको छैन। प्रधानमन्त्रीको सचिवालयका अनुसार गोरसँगको भेटका लागि कुनै निश्चित कार्यतालिका सार्वजनिक गरिएको छैन।
यसअघि गोरले बंगलादेश, भुटान र श्रीलंकालगायत देशको भ्रमण गर्दै त्यहाँका राष्ट्र प्रमुखहरूसँग भेटघाट गरिसकेका छन्। नेपालमा भने प्रधानमन्त्रीसँगको भेट अनिश्चित रहे पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटघाट भने निश्चित भइसकेको छ।