काठमाडौँ । पोखरास्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय एक बालकको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल नेपाल कालिका गण पोखराका अनुसार पोखरा महानगरपालिका-१८ खपौदी क्षेत्रमा रहेको फेवातालमा शुक्रबार बिहान पौडी खेल्ने क्रममा स्थानीय १० वर्षीय आरेस लामा तालमा डुबेका थिए।
बालक तालमा बेपत्ता भएको सूचना प्राप्त भएपछि प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको नेतृत्वमा सात सदस्यीय उद्धार टोली, गोताखोरसहित परिचालन गरिएको थियो।
खोजतलासका क्रममा टोलीले करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालेको जनाएको छ।
उद्धारपछि तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो।
उपचारका क्रममा दिउँसो करिब १२:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।