काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट लेखन समितिले पूर्णता पाएको छ। समितिका दुई सदस्य सरुवा भएपछि खाली रहेको स्थानमा नयाँ सदस्य नियुक्त गरिएको छ ।
अर्थ मन्त्रालयले २० चैतमा गठन गरेको समितिबाट सहसचिवद्वय महेश भट्टराई र सेवन्तक पोखरेललाई १० वैशाखमा सरुवा गरेको थियो। बजेट तयारीकै संवेदनशील चरणमा गरिएको उक्त सरुवाको औपचारिक कारण भने खुलाइएको छैन।
मन्त्रालयका सूचना अधिकारी किशोर ढकालका अनुसार नयाँ सदस्यका रूपमा सहसचिव अमृत लम्साल र टंकप्रसाद पाण्डेयलाई समितिमा नियुक्त गरिएको छ।
उनका अनुसार मन्त्रालयगत छलफल सम्पन्न भइसकेको र लेखन समितिले अहिले बजेट तयारीलाई तीव्र बनाएको छ। संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष १५ जेठमा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ। यसपटक निर्वाचनका कारण बजेट तालिका प्रभावित भएपछि ढिलाइ गरी समिति गठन गरिएको थियो।