काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक(आईजीपी) राजु अर्यालको फौजी परम्पराअनुसार बिदाइ गरिएको छ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले शुक्रबार प्रधान कार्यालय हल्चोकमा विशेष समारोहकाबीच मायाको चिनो हस्तान्तरण गरेर अर्याललाई बिदाइ गरेका छन् । यससँगै नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको नेतृत्व सम्हालेका छन्।
समारोहका क्रममा अर्यालले संगठन प्रमुखको प्रतीकात्मक छडी र सशस्त्र प्रहरी बलको झन्डा हस्तान्तरण गर्दै नेतृत्व पौडेललाई सुम्पिएका छन्। साथै, संगठनको प्रशासनिक तथा कार्यगत जिम्मेवारीसमेत औपचारिक रूपमा बरबुझारथ गरिएको जनाइएको छ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा निकायको सर्वोच्च पदसम्म पुग्नु र सफलतापूर्वक सेवा निवृत्त हुनु आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले संगठनलाई परिवारका रूपमा लिएर अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वबारे धेरै सिक्ने अवसर प्राप्त भएको अनुभवसमेत सुनाए।
उनले संगठन सुधार कुनै एक नेतृत्वकालमा सुरु भएर अर्को कार्यकालमा समाप्त हुने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गरे। साथै, आफ्नो सेवाकालभर सहयोग, साथ र ऊर्जा प्रदान गर्ने सशस्त्र प्रहरी कर्मचारीप्रति आभार व्यक्त गरे।
नवनियुक्त महानिरीक्षक पौडेलले कार्यक्रममा बोल्दै राष्ट्र सुरक्षामा समर्पित जीवन औपचारिक अवकाशसँग समाप्त नहुने धारणा व्यक्त गरे।
उक्त समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याललाई संघकी उपाध्यक्ष सावित्राकुमारी पौडेलले फूलमाला अर्पण गरी बिदाइ गरेकी थिइन्।