काठमाडौँ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै ५० ओभर खेलेर ७ विकेटको क्षतिमा २८९ रन बनाएको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १०० रन जोडे। एकदिवसीय खेलमा दोस्रो शतक प्रहार गरेका दीपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गरे। उनी अन्तिम बलमा रनआउट भएका थिए।
दीपेन्द्र र गुल्सन झाबीच छैटौं विकेटका लागि १०२ रनको साझेदारी भयो। गुल्सनले ३८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाए।
त्यसअघि ओपनिङमा आएका विनोद भण्डारीले ७९ बलमा ७ चौकाको मद्दतमा ५६ रन बनाए।
ओपनिङमा मौका पाएका डेब्यू खेलाडी अर्जुन कुमालले ११ रन जोडे भने भीम सार्की शून्यमा पेभिलियन फर्किए।
कप्तान रोहितकुमार पौडेलले ४८ बलमा ३९ रन र आरिफ शेखले १६ बलमा ११ रन जोडे।
युएईका लागि अजय कुमार र जुनिद सिद्धिके २/२ विकेट लिए। हेडर अलि र खुजीमा तानभिरले समान १/१ विकेट लिए।